आइतवार, कार्तिक ८ गते २०८३

उद्धारमा खटिएका सुरक्षाकर्मीलाई आईजीपी कार्कीको सलाम

शनिवार , भाद्र २०, २०८३

लोक दृष्टि खबर।

काठमाडौं । विपद्का कठिन परिस्थितिमा उद्धार कार्यमा खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीहरूको साहस, समर्पण र व्यावसायिकताको प्रशंसा गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उच्च सम्मान व्यक्त गर्नुभएको छ।

प्रहरी महानिरीक्षक कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत उद्धार कार्यमा संलग्न सम्पूर्ण सुरक्षाकर्मीलाई हार्दिक धन्यवाद दिँदै विपद्को कठिन अवस्थामा पनि मानव जीवनको रक्षा नै पहिलो प्राथमिकता भएको उल्लेख गर्नुभएको छ।

उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त प्रयासलाई अत्यन्तै सराहनीय भन्दै सुरक्षाकर्मीहरूको समन्वय, साहस, समर्पण र व्यावसायिकताप्रति सम्मान व्यक्त गर्नुभएको हो।

“एक जीवन बचाउनु भनेको एउटा परिवारको आशा बचाउनु हो,” प्रहरी महानिरीक्षक कार्कीले लेख्नुभएको छ।

विपद्का बेला जोखिमको पर्वाह नगरी उद्धारमा खटिने सुरक्षाकर्मीहरूले पुर्‍याएको योगदानले मानवीय संवेदनशीलता र राज्यप्रतिको जिम्मेवारीलाई थप मजबुत बनाएको उहाँको भनाइ छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको प्रभावकारी समन्वयले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

प्रहरी महानिरीक्षक कार्कीको उक्त भनाइले विपद्को समयमा अग्रपंक्तिमा रहेर नागरिकको ज्यान जोगाउन खटिएका सुरक्षाकर्मीप्रति सम्मान र हौसला बढाएको छ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार