मध्यपुर थिमि — मध्यपुर थिमि नगरपालिकाले करदाताहरूका लागि विभिन्न कर तथा जरिवानामा विशेष छुटको व्यवस्था गरेको छ। "तपाईं हाम्रै कर: समृद्ध मध्यपुर नगर" भन्ने मूल नाराका साथ नगरपालिकाले असोज मसान्तभित्र कर बुझाउने नगरवासीहरूलाई छुट तथा जरिवाना मिनाहाको अवसर दिएको हो।
नगरपालिकाले सार्वजनिक गरेको सूचना अनुसार लामो समयदेखि सञ्चालनमा रहेर पनि दर्ता नभएका व्यवसायहरू दर्ता गर्दा आर्थिक वर्ष २०७४/०७५ लाई आधार वर्ष मानी सोभन्दा अघिल्लो अवधिभरको सम्पूर्ण व्यवसाय कर छुट गरिएको छ। त्यसैगरी, असोज मसान्तभित्र नयाँ व्यवसाय दर्ता गरेमा आर्थिक वर्ष २०७४/०७५ देखि अघिल्लो आर्थिक वर्ष २०८२/०८३ सम्मको बक्यौता व्यवसाय कर र बहाल कर दुवैमा ५० प्रतिशत छुट दिइनुका साथै उक्त अवधिको सम्पूर्ण जरिवाना समेत मिनाहा हुने व्यवस्था गरिएको छ। दर्ता भएर पनि नवीकरण बाँकी रहेका व्यवसायहरूले असोज मसान्तभित्र नवीकरण गराएमा हालसम्मको सम्पूर्ण जरिवाना मिनाहा हुनुका साथै चालू आर्थिक वर्षको करमा १० प्रतिशत छुट पाइनेछ।
यसका साथै असोज मसान्तभित्र सम्पत्ति कर बुझाउने करदातालाई चालू आर्थिक वर्षको करमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने चालू आर्थिक वर्ष २०८३/०८४ को सम्पूर्ण बहाल कर एकमुष्ट अग्रिम रूपमा बुझाएमा पनि १० प्रतिशत छुट दिइनेछ।
नगरपालिकाले यसै आर्थिक वर्षदेखि नेपाल सरकारद्वारा निर्मित 'सूत्र राजस्व प्रणाली' मार्फत कर संकलन कार्य सुरु गरेको हुँदा करदाताको विवरण अद्यावधिक गर्नुपर्ने जनाएको छ। यसका लागि कर तिर्न जाँदा पहिले कर तिरेको रसिद, जग्गाधनी पुर्जा, भवन निर्माण इजाजतपत्र वा निर्माण सम्पन्न प्रमाणपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्र लगायतका आवश्यक कागजातको प्रतिलिपि साथमा लिएर जान नगरपालिकाले अनुरोध गरेको छ। समयमै कर तिरी सचेत र जिम्मेवार नागरिकको परिचय दिन र यो छुट तथा सहूलियतको लाभ लिन नगरपालिकाले सम्पूर्ण करदाताहरूलाई अपिल गरेको छ।