आइतवार, कार्तिक ८ गते २०८३

युक्रेनस्थित भारतीय लगानीको औषधि उद्योगमा रुसी हवाई आक्रमण, १ जनाको मृत्यु

सोमवार , आश्विन १९, २०८३

काठमाडौँ।

युक्रेनको उत्तर-पूर्वी सहर सुमीमा सञ्चालित भारतीय व्यवसायीको एक प्रमुख औषधि उत्पादन केन्द्रमा रुसले मानवरहित विमान (ड्रोन) मार्फत शृङ्खलाबद्ध हमला गरेको छ।

​रुसी सीमाभन्दा करिब २३ किलोमिटर दूरीमा रहेको उक्त औषधि कारखानामा भएको आक्रमणमा परी एक जना इन्जिनियरको ज्यान गएको छ भने अन्य केही कर्मचारी घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

​प्रत्यक्षदर्शीका अनुसार विस्फोटलगत्तै उद्योग परिसरबाट बाक्लो धुवाँको मुस्लो निस्किएको थियो। रुसी ड्रोनले मुख्य गरी कारखानाको प्राविधिक तथा इन्जिनियरिङ शाखालाई लक्षित गरी प्रहार गरेको जनाइएको छ। भीषण हमलाका कारण उत्पादन गृहको जगैदेखि ठुलो क्षति पुगेको छ।

​प्रारम्भिक मूल्याङ्कन अनुसार यस हवाई कारबाहीबाट कम्पनीले ५ करोड अमेरिकी डलर (करिब ४ सय करोड भारतीय रुपैयाँ) भन्दा बढीको भौतिक तथा आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ। क्षति धेरै भएकाले कारखाना पुनः सञ्चालनमा आउन कम्तीमा एकदेखि दुई वर्ष लाग्न सक्ने अनुमान गरिएको छ।

​नेपाली/भारतीय मूलका उद्यमी राजीव गुप्ताले सन् १९९० को दशकमा स्थापना गरेको 'कुसुम ग्रुप' युक्रेनको औषधि बजारमा अग्रणी मानिन्छ। सन् १९९४ देखि भारतीय औषधि आयात र वितरण गर्दै आएको यस समूहले पछि युक्रेनमै आफ्नै उत्पादन संयन्त्र विस्तार गरेको थियो। हाल यस कम्पनीको केन्द्रीय कार्यालय राजधानी किभमा रहेको छ।

​उक्त क्षेत्रमा अझै पनि उद्धार तथा क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने काम जारी रहेकाले हताहतको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ। 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार