बाढीले देशभर जनजीवन प्रभावित, फेरि पनि कालीगण्डकीमा विनाशकारी बाढी: स्याङ्जा–गुल्मी जोड्ने पुल बग्यो, कालीगण्डकी ‘ए’ को उत्पादन ठप्प, सेतीबेणी जोखिममा
स्याङ्जा।
देशभर जारी अविरल वर्षाका कारण जनजीवन पूर्ण रूपमा प्रभावित भइरहेका बेला कालीगण्डकी नदीमा आएको भीषण बाढीले थप वितण्डा मचाएको छ। नदीको तीव्र बहावले स्याङ्जाको मिर्मी र गुल्मीको हर्मीचौर जोड्ने पक्की मोटरेबल पुल पूर्ण रूपमा बगाएपछि दुई जिल्लाबीचको सीधा सडक सम्पर्क टुटेको छ।
पुल ध्वस्त, यातायात ठप्प
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर जोड्ने उक्त पुल बाढीको थिचोमिचो सहन नसकी नदीमा भासिएर बगेको हो। पुल बगेसँगै गुल्मीका दुर्गम बस्तीहरूसँगको आवतजावत र खाद्यान्न ढुवानी पूर्ण रूपमा ठप्प भएको छ।
विद्युत् उत्पादन रोकियो
बाढीसँगै आएको लेदो र भीषण बहावका कारण देशकै प्रमुख जलविद्युत् केन्द्र कालीगण्डकी ‘ए’ को विद्युत् उत्पादन पूर्ण रूपमा बन्द गरिएको छ। आयोजनाको सुरक्षालाई मध्यनजर गर्दै मिर्मीस्थित बाँधका सबै ढोकाहरू (फ्लोडगेट्स) खोलिएका छन्।
सेतीबेणी बजार उच्च जोखिममा
स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा रहेको प्रसिद्ध धार्मिक तथा व्यापारिक केन्द्र सेतीबेणी बजार कालीगण्डकीको पानी बस्तीमा पसेपछि डुबानको उच्च जोखिममा परेको छ। विश्वकै ठूलो शालिग्राम शिला जलमग्न भएको छ भने बजार क्षेत्रका स्थानीयहरू घर छाडेर सुरक्षित डाँडातर्फ सर्न बाध्य भएका छन्।
लगातारको वर्षा र नदीको सतह घटिनसकेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासन र सुरक्षा निकायले आग्रह गरेका छन्