आइतवार, कार्तिक ८ गते २०८३

नेपाली सेनाको भोटेकोशी र बुढीगण्डकी नदीलगायतका क्षेत्रमा आएको बाढीपछिको खोज, उद्धार तथा पुनःस्थापना कार्य

शनिवार , आश्विन ३१, २०८३

काठमाडौँ

नेपाली सेनाले भोटेकोशी र बुढीगण्डकी नदीलगायतका क्षेत्रमा आएको बाढीपछिको खोज, उद्धार तथा पुनःस्थापना कार्यलाई समन्वय, सहकार्य र आपसी सहयोगको उत्कृष्ट संयोजनको संज्ञा दिएको छ। सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार प्रतिकूल मौसम, दुर्गम भूगोल र चुनौतीपूर्ण परिस्थितिका बाबजुद नागरिकको जीवन रक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएको छ। भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढी र त्यसपछि

असोज महिनाको अविरल वर्षाका कारण बागलुङ, पर्वत, म्याग्दी, मनाङ र मुस्ताङलगायतका जिल्लामा ठूलो जनधनको क्षति हुँदा सेनाले स्थल तथा हवाई साधन, दक्ष स्वास्थ्यकर्मी र इन्जिनियरिङ फौजसहित हजारौँ सैनिक परिचालन गरेको थियो। यस क्रममा जोखिममा परेका १२७ जना नागरिकको हवाई उद्धार गरिनुका साथै ड्रोनमार्फत इन्धनसमेत आपूर्ति गरिएको थियो।

उद्धार तथा पुनर्निर्माणका प्रमुख कार्यहरू अन्तर्गत मनाङको चामे गाउँपालिका–४ स्थित ठाडो खोलामा पहिरोका कारण थुनिएको मस्र्याङ्दी नदीको बहाव पूर्ववत् सञ्चालनमा ल्याइयो, अवरुद्ध विद्युत् प्रसारण लाइन मर्मत गरियो र अस्थायी पुल निर्माण गरी माथिल्लो मनाङसँगको आवागमन सुचारु गरियो। त्यस्तै, नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरोमा परी मृत्यु भएका पर्यटकहरूको शव हवाई माध्यमबाट उद्धार गरियो। बुढीगण्डकी नदीको बाढी प्रभावित क्षेत्रमा एमआई–१७ सहित चारवटा हेलिकप्टर र स्थलमार्गबाट उद्धार टोली परिचालन गरी विदेशी नागरिकसहित १,१०६ जनालाई सुरक्षित स्थानमा लगिनुका साथै करिब १८,६८० किलोग्राम खाद्यान्न तथा राहत सामग्री ढुवानी गरियो। सडक सञ्जाल पुनःसञ्चालनका लागि आरुघाटमा बेलिब्रिज जडान गर्ने तयारी तीव्र पारिएको छ भने रसुवाको सडक सञ्जाल जोड्न तादी र फलाकु खोलामा एक्रोब्रिज जडान गरिएको छ।

विपद् व्यवस्थापन एक्लो प्रयासले सम्भव नहुने स्पष्ट पार्दै सेनाले नेपाल सरकारको निर्देशनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, स्थानीय तह र समुदायबीचको समन्वयबाट खोज, उद्धार तथा राहत कार्यलाई सफल बनाएको जनाएको छ। सीमित एयरस्पेस, बन्द स्थलमार्ग र थुनिएका टनेलजस्ता जटिल परिस्थितिमा पनि हवाई, जमिन र टनेल खोज तथा उद्धार कार्य त्रुटिरहित ढङ्गले सम्पन्न गरिएको छ। संकटको घडीमा नागरिकको जीवन रक्षा र भविष्य सुरक्षित गर्नु राज्यको प्रमुख दायित्व रहेको उल्लेख गर्दै नेपाली सेनाले जस्तोसुकै प्रतिकूल अवस्थामा पनि सेवा, सुरक्षा र मानवीय समर्पणका साथ कर्तव्य पालना गर्न आफूहरू सदैव प्रतिबद्ध रहेको बताएको छ।

 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार