काठमाडौँ —
आगामी अक्टोबर १४ देखि १६ सम्म दक्षिण अफ्रिकाको स्टेलनबोस्चस्थित हेजेनडाल वाइनस्टेटमा आयोजना हुन गइरहेको विश्व वैज्ञानिक सम्मेलन ‘वर्ल्ड न्यूट्रिसन समिट, २०२६’ मा नेपालको तर्फबाट फिजिसियन डा दिलजान मन्सुर सहभागी हुने भएका छन्। उनी सो प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलनमा अतिथि वक्ता (Guest Speaker) का रूपमा आमन्त्रित हुने पहिलो नेपाली चिकित्सक हुन्।
‘द नोक्स फाउण्डेशन’ र ‘न्यूट्रिसन नेटवर्क’को संयुक्त आयोजनामा ‘रिलाइटिङ द रुल्स’ नाराका साथ सञ्चालन हुन लागेको यस वर्षको सम्मेलनमा विश्वभरका अग्रणी चिकित्सक, वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू बीच मेटाबोलिक स्वास्थ्य, कार्बोहाइड्रेट नियन्त्रण र दीर्घकालीन रोगहरूको उपचारका विषयमा गहन छलफल हुनेछ।
नेपालमा परम्परागत चिकित्सा प्रणालीभन्दा फरक ढङ्गले लो-कार्ब र मेटाबोलिक थेरापीको जग बसालेका डा मन्सुरले काठमाडौँस्थित एफडिएच (FDH) क्लिनिकमार्फत सेवा प्रदान गर्दै आएका छन्। वैज्ञानिकीकृत मेटाबोलिक थेरापीले बिरामीको जीवन शैली र स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने कुरालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न पाउँदा खुसी व्यक्त गर्दै उनले यो सहभागिताले नेपालको प्रयासलाई विश्वस्तरमा चिनाउन मद्दत पुग्ने बताएका छन्।