सोमवार, कार्तिक ९ गते २०८३

तेस्रो धरान स्पोर्टस् अवार्ड: पत्रकार गोविन्द बस्नेत र कराते खेलाडी निगम तिम्सिना सम्मानित

सोमवार , आश्विन १९, २०८३

धरान, १९ असोज – खेलकुद मञ्च धरानको आयोजनामा सम्पन्न ‘तेस्रो धरान स्पोर्टस् अवार्ड’ मा खेलकुद पत्रकारिता र खेल प्रतिभातर्फ उत्कृष्ट योगदान पुर्‍याएका व्यक्तित्वहरू सम्मानित तथा पुरस्कृत भएका छन्।

​धरानमा आयोजित एक भव्य समारोहका बीच कोशीपत्र दैनिकका कार्यकारी सम्पादक गोविन्द बस्नेतलाई खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित गरियो। लामो समयदेखि खेलकुद क्षेत्रको समाचार, विश्लेषण र ओझेलमा परेका खेल प्रतिभाहरूलाई सञ्चार माध्यममार्फत उजागर गर्न पुर्‍याएको महत्त्वपूर्ण योगदानको कदर गर्दै उहाँलाई यो सम्मान प्रदान गरिएको हो।

​त्यसैगरी, खेलकुदतर्फ करातेका राष्ट्रिय खेलाडी निगम तिम्सिना उत्कृष्ट वर्ष खेलाडी अवार्डबाट पुरस्कृत हुनुभएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै क्षेत्र र देशको नाम उच्च राख्न सफल भएकाले तिम्सिनालाई सो अवार्ड प्रदान गरिएको आयोजक समितिले जनाएको छ।

​समारोहमा खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्व, स्थानीय प्रतिनिधि, समाजसेवी तथा संघ-संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमका वक्ताहरूले खेल क्षेत्रको प्रवर्द्धन, खेलाडीहरूको हौसला अभिवृद्धि र खेल पत्रकारिताको विकासका लागि धरान स्पोर्टस् अवार्डले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए।

​मञ्चले विगत केही वर्षदेखि पूर्वाञ्चल क्षेत्रको खेलकुद विकासमा क्रियाशील खेलाडी, प्रशिक्षक र खेल पत्रकारहरूलाई प्रोत्साहन स्वरूप यो अवार्ड प्रदान गर्दै आएको छ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार