काठमाडौँ, १७ असोज — नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई लक्षित गरी ३० जना स्वास्थ्यकर्मीसहितको अत्याधुनिक 'हेल्थ डेस्क' (स्वास्थ्य कक्ष) तयार गरिएको छ। महाधिवेशन अवधिभर प्रतिनिधिहरूलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन यो प्रबन्ध मिलाइएको हो।
आयोजक समितिको स्वास्थ्य संयोजक डा. केदारनरसिंह केसीका अनुसार महाधिवेशनस्थल खुला मञ्चको पश्चिमतर्फ ५ वटा कक्षसहितको हेल्थ डेस्क स्थापना गरिएको छ। उक्त डेस्कमार्फत सामान्य स्वास्थ्य परीक्षणका साथै आकस्मिक सेवा प्रदान गरिनेछ।
हेल्थ डेस्क दुई सिफ्टमा निरन्तर सञ्चालन हुने र प्रत्येक सिफ्टमा ८ जना चिकित्सक, पारामेडिक्स तथा नर्सहरू परिचालन हुनेछन्। डेस्कबाट मधुमेह, उच्च रक्तचाप जाँचका साथै सिटामोल, जीवनजल र घाउचोटमा प्रयोग हुने आवश्यक औषधिहरू निःशुल्क वितरण गरिने व्यवस्था गरिएको छ।
आकस्मिक उपचार आवश्यक परेमा प्रतिनिधिहरूलाई तत्काल अस्पताल पुर्याउन महाधिवेशनस्थलमा २ वटा एम्बुलेन्स २४सै घण्टा तयारी अवस्थामा राखिनेछ। गम्भीर अवस्थाका बिरामीका लागि नजिकैका वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र वसुन्धारास्थित बीपी स्मृति अस्पतालमा उपचारको विशेष प्रबन्ध मिलाइएको डा. केसीले जानकारी दिनुभयो।
यसैगरी, रातिको समयमा आइपर्ने स्वास्थ्य समस्याका लागि 'अन-कल ड्युटी' को व्यवस्था गरिएको छ भने होटलमा बसोबास गरिरहेका प्रतिनिधि बिरामी परेमा होटलमै पुगेर स्वास्थ्य जाँच गर्ने व्यवस्थासमेत मिलाइएको छ।