काठमाडौँ (एजेन्सी) — साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडौलाइडिसले दशकौँ पुरानो साइप्रस समस्याको दीर्घकालीन र समग्र समाधानका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उनले सन् २०१७ देखि रोकिएको वार्ता प्रक्रियालाई पुनः निरन्तरता दिन आफू तयार रहेको स्पष्ट पारेका हुन्।
सम्बोधनका क्रममा राष्ट्रपति क्रिस्टोडौलाइडिसले संयुक्त राष्ट्रसङ्घको पूर्वस्वीकृत ढाँचाभित्र रहेर संवाद अघि बढाउनुपर्नेमा जोड दिए। विगतमा भइसकेका महत्त्वपूर्ण सहमति र प्रगतिलाई आधार मानेर अड्किएको वार्तालाई अघि बढाउन सकिने उनको भनाइ थियो।
समस्या समाधानका लागि स्पष्ट आधारहरू विद्यमान रहेको उल्लेख गर्दै उनले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का प्रस्तावहरू, अन्तर्राष्ट्रिय कानुन एवं युरोपेली युनियनका सिद्धान्त र मूल्य-मान्यता नै यसको मूल बाटो भएको बताए।