लोक दृष्टि खबर।
भैरहवा । रुपन्देही युवा समूहले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले आयोजना गर्दै आएको ‘हिरोज अफ पब्लिक अवार्ड–२०८३’ को आठौँ संस्करण भव्य रूपमा आयोजना गर्ने तयारी गरेको छ। आगामी कार्तिक १४ गते भैरहवामा आयोजना हुने कार्यक्रममा राजनीति, समाजसेवा, नृत्य, गायन, कृषि, व्यवसाय, खेलकुद, शिक्षा, ब्यूटीसियन, स्वास्थ्य, सञ्चार, संस्था, धर्म, वातावरण र बैंकिङलगायतका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने १५ जना व्यक्तित्वलाई अवार्ड प्रदान गरी सम्मान गरिने आयोजकले जनाएको छ। साथै, थप १५ जनालाई विशेष सम्मान गरिनेछ।
रुपन्देही युवा समूहका अध्यक्ष विशाल गुप्ताका अनुसार रुपन्देहीलाई आफ्नो कर्म, क्षमता र योगदानमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन भूमिका खेलिरहेका प्रतिभा तथा व्यक्तित्वलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड कार्यक्रम आयोजना हुँदै आएको हो। “हामीले अवार्डलाई केवल सम्मानको कार्यक्रमका रूपमा नभई समाजमा सकारात्मक योगदान गर्ने व्यक्तिहरूको पहिचान, प्रोत्साहन र सम्मान गर्ने अभियानका रूपमा अघि बढाएका छौँ,” अध्यक्ष गुप्ताले भन्नुभयो, “विभिन्न क्षेत्रमार्फत रुपन्देहीको गौरव बढाउन योगदान पुर्याउने १५ जना व्यक्तित्वलाई यस वर्ष सम्मान गर्नेछौँ।”
यस वर्षको अवार्ड कार्यक्रमलाई विगतका संस्करणभन्दा अझ भव्य, आकर्षक, सिर्जनात्मक र अन्तर्राष्ट्रियस्तरको प्रस्तुति दिने तयारी गरिएको आयोजकले जनाएको छ। कार्यक्रमलाई थप कलात्मक तथा मनोरञ्जनात्मक बनाउन मोडल तथा डान्सर अंकु चौरसियालाई कल्चरल एन्ड आर्टिस्ट डाइरेक्टर नियुक्त गरिएको छ। मोडलिङ तथा नृत्य क्षेत्रमा सक्रिय चौरसियाले अवार्ड समारोहमा हुने कलात्मक प्रस्तुति, डान्स, सांस्कृतिक कार्यक्रम तथा कलाकार समन्वयको नेतृत्व गर्नेछिन्। चौरसियाको सहभागिताले कार्यक्रमको ग्ल्यामर, क्रिएटिभिटी र प्रस्तुतिको स्तरलाई अझ माथि उठाउने विश्वास आयोजकले व्यक्त गरेको छ।
रुपन्देही युवा समूहले सन् २०७६ सालमा पहिलोपटक ‘हिरोज अफ पब्लिक अवार्ड’ आयोजना गरी विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरेको थियो। त्यसयता निरन्तर रूपमा आयोजना हुँदै आएको यो कार्यक्रम यस वर्ष आठौँ संस्करणमा प्रवेश गरेको हो।
अध्यक्ष विशाल गुप्ताको नेतृत्वमा रुपन्देही युवा समूहले सामाजिक उत्तरदायित्व, प्रतिभा पहिचान र सकारात्मक कार्यमा योगदान पुर्याउने व्यक्तित्वलाई एउटै मञ्चमा ल्याउने प्रयास गर्दै आएको छ। गुप्ताले अवार्डलाई निरन्तरता दिनुका साथै हरेक संस्करणमा नयाँपन, गुणस्तर र व्यापकता थप्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। “समाजमा राम्रो काम गर्ने मानिसलाई सम्मान गर्दा उनीहरू मात्र होइन, नयाँ पुस्तासमेत सकारात्मक कामका लागि प्रेरित हुन्छ,” भन्ने मान्यताका साथ कार्यक्रमलाई अघि बढाइएको उहाँको भनाइ छ।
यसपटकको ‘हिरोज अफ पब्लिक अवार्ड–२०८३’ लाई रुपन्देहीको पहिचान, प्रतिभा र उपलब्धिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्ने महत्वपूर्ण मञ्चका रूपमा विकास गर्ने आयोजकको लक्ष्य रहेको छ।