पाल्पा।
विगत दुई दिनदेखि भइरहेको निरन्तरको भीषण वर्षाका कारण पाल्पा जिल्लाभर बाढी र पहिरोले ठूलो विपत्ति निम्त्याएको छ। भिन्न-भिन्न स्थानमा खसेको पहिरोमा पुरिएर दुई जनाको दुःखद निधन भएको छ भने अन्य तीन जना अहिलेसम्म सम्पर्कविहीन रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विमल भट्टराईका अनुसार पहिरोका कारण माथागढी गाउँपालिका–२ निवासी ७५ वर्षका शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ की ५९ वर्षीया कृष्णकुमारी सारूको ज्यान गएको छ। सारूको आफ्नै घर पहिरोले पूरै ढाक्दा सोही स्थानमा मृत्यु भएको प्रहरीले जनाएको छ।
भौतिक पूर्वाधार र कृषिमा धक्का:
- यातातयात ठप्प: कालीगण्डकी जलविद्युत् आयोजनाको बाँध नजिकै स्याङ्जा र गुल्मी जिल्ला जोड्न निर्माण गरिएको पक्की मोटरेबल पुल बाढीको भीषण धक्काका कारण बगेको छ।
- अन्नबाली पूर्ण रूपमा नष्ट: पाल्पाका मुख्य अन्न भण्डार मानिने माडीफाँट र झाडेवाका फाँटहरूमा लगाइएको धानबाली बाढी र कटानका कारण सखाप भएको छ।
-
बस्ती स्थानान्तरण: माथागढी गाउँपालिका–४ स्थित विभिन्न ठाउँमा जमिन फाटिएर पहिरोको उच्च जोखिम बनेपछि दर्जनाैँ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
स्थानीय प्रशासन, प्रहरी र स्थानीयबासीको सक्रियतामा बेपत्ता भएकाहरूको तीव्र खोजी तथा उद्धार कार्य जारी छ। लगातारको वर्षा नरोकिएकाले तटीय तथा पहिरोको जोखिममा रहेका नागरिकहरूलाई सजग रहन आग्रह गरिएको छ।