काठमाडौँ। बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली मौसमी प्रणालीको असरका कारण काठमाडौँ उपत्यकालगायत देशका अधिकांश भू-भागमा लगातार भारी वर्षा भइरहेको छ। अविरल वर्षासँगै बाढी र पहिरोको जोखिम उच्च बनेपछि गृह प्रशासन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर उच्च सतर्कता अपनाउन अपिल गरेको छ। उपत्यकाका नदीमा जलसतह बढ्यो, डुबानको खतरा लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकाभित्रका बागमती, विष्णुमती, धोबीखोला, र मनोहरा नदीमा जलसतह खतराको बिन्दु नजिक पुगेको छ। तल्लो र नदी तटीय क्षेत्रका बस्तीहरूमा डुबानको जोखिम बढेकाले काठमाडौँ, ललितपुर र भक्तपुरका सुरक्षा निकाय तथा नगर प्रहरीलाई चौबिसै घण्टा हाइअलर्टमा राखिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै उद्धारका लागि र्याफ्टिङ बोटसहितका विशेष टोलीहरू तैनाथ गरिएका छन्। सडक यातायात प्रभावित: रात्रिकालिन सवारी साधनमा रोक पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरूसहित देशभरका अति जोखिमयुक्त सडकखण्डहरूमा रात्रिकालिन सवारी साधन सञ्चालनमा अस्थायी रोक लगाइएको छ। काभ्रे, सिन्धुपाल्चोक, धादिङ, रसुवा र नुवाकोट लगायतका क्षेत्रमा साना-ठूला पहिरो जाने क्रम सुरु भएकाले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न र यात्रा स्थगित गर्न गृह मन्त्रालयले अनुरोध गरेको छ। अवरुद्ध सडक तत्काल खुलाउन प्रमुख राजमार्गहरूमा डोजर तथा हेभी इक्विपमेन्टहरू तयारी अवस्थामा राखिएका छन्। हिमाली क्षेत्रमा 'रेड अलर्ट', ट्रेकिङ रोक्न निर्देशन उच्च हिमाली भू-भागमा हिमपात र भीषण वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमान महाशाखा र विपद् प्राधिकरणले 'रेड अलर्ट' जारी गरेका छन्। पर्वतारोहण र पदयात्रा (Trekking) मा रहेका आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सुरक्षित आश्रयस्थलमा रहन र नयाँ पदयात्रा नगराउन ट्रेकिङ एजेन्सीहरूलाई निर्देशन दिइएको छ। सुरक्षा निकाय हाइअलर्टमा, एकीकृत सूचना प्रणाली सक्रिय देशैभरका ७७ वटै जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई क्रियाशील बनाइएको छ। नेपाल सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीहरूलाई तयारी अवस्थामा राखिएको छ। यस्तै, नदीहरूमा जलसतहले खतराको तह पार गरेमा सम्बन्धित क्षेत्रका बासिन्दाको मोबाइलमा राष्ट्रिय विपद् प्राधिकरणबाट पूर्वसूचना मुलक SMS पठाउने व्यवस्था मिलाइएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो मौसमी प्रणाली अझै केही दिन सक्रिय रहने भएकाले नदी तटीय र पहिरोग्रस्त क्षेत्रमा बस्ने बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।